play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

देशभर आठ वटा खोप भण्डारण गृह निर्माण गर्दै सरकार

0

फागुन,११।
सरकारले देशका विभिन्न आठ ठाउँमा कोरोनाविरुद्धको खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एकरएक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो । त्यहीअनुसार प्रदेश नम्बर १ को विराटनगरमा रहेको प्रदेश ल्याब बनाउने ठाउँमा, प्रदेश नम्बर २ को जनकपुरमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ । त्यस्तै लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतमा रहेको स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ,भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ । स्वास्थ्य मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरज पौडेलका अनुसार एक करोड २० लाख रुपैयाँका दरले आठ वटा भण्डारण गृह निर्माण गर्न नौ करोड साठी लाख रुपैयाँ खर्च हुनेछ । उहाँका अनुसार प्रदेश–२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भएर कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सूचना प्रकाशन भएको पौडेलले बताउनुभयो । कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भएर प्रयोग गर्न मिल्ने भनिएको भण्डारण गृहमा सम्बन्धित प्रदेशका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकता बमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ ।

Share.

Leave A Reply