नारायणगढ,गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीका पोल बाधक

0

फागुन,११।
चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडक आयोजनाका इन्जिनियर शिव खनालले गोन्द्राङदेखि केन्द्रीय बस टर्मिलनसम्म सडकको दुबै क्षेत्रमा सडक सीमाको पर्खाल लगाएर माटो भर्ने काम सुरु गरिएको बताए । विभिन्न ठाउँमा कल्भर्टहरु बनाउने काम पनि धमाधम भैरहेको छ । तर, पोल सार्ने काममा ढिलाइ हुने हुँदा त्यसले समग्र कार्यप्रगतिमा नै असर गर्न सक्ने देखिएको छ । पोल सार्न आयोजनाले तयार गरेको स्टिमेट स्वीकृत हुन अझै बाँकी छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । सडकको माघ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । आयोजनाले विद्युत पोल सार्न, रुख कटान तथा खानेपानीको पाइपका लागि भन्दै ५ करोड रकम छुट्टाएको छ । बर्खाअघि गोन्द्राङदेखि बसपार्कसम्म सर्भिस लेनसमेत तयार गरेर सवारी सोही ठाउँबाट हिँडाउने र मुख्य राजमार्गको भाग भत्काएर काम थाल्ने योजनामा विद्युत पोल बाधक बन्ने अवस्था छ । टाँडीबाट भरतपुरतर्फ आउँदा दक्षिणतर्फ नाली बनाउने ठाउँमा नै अधिकांश पोल छ । रुख कटान तथा अन्य संरचनाहरु भत्काएर साइट क्लियर गराउने काम अघि बढे पनि पोलले समस्या गराउने अवस्था आएको इन्जिनियर खनालले बताए । उनले यसका लागि प्राधिकरणसँग सडक डिभिजन कार्यालय तथा ठेकेदारले समन्वय गरिरहेको बताए । उनले बसपार्कदेखि गोन्द्राङसम्म विद्युत तार भूमिगत गर्ने योजना नरहेको बताए ।

Share.

Leave A Reply