चितवन , फागुन ०९ । मान्छेमाथि आक्रमण गर्नुका साथै सवारीको ठक्करबाट मारिनेलगायत घटना बढ्न थालेपछि अब उपकरण राखेर बाघका गतिविधि निगरानी गरिने भएको छ । घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जोडेर निगरानीको तयारी गरिएको हो । यसबाट बाघका गतिविधि, आउजाउको समय, विचरण क्षेत्र र आनीबानीलगायत अनुगमन हुनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपक खरालका अनुसार पहिलो चरणमा ‘चितवन–पर्सा ब्लक’ अन्तर्गत पर्सा निकुञ्ज क्षेत्रको एउटा बाघको घाँटीमा स्याटेलाइट कलर राखिनेछ । बाघका घाँटीमा जडान गरिने स्याटेलाइट कलरमार्फत प्राप्त हुने संकेतका आधारमा उसले हिँड्ने बाटो, हिँडडुल गर्ने अधिक समय, आनीबानी र आहारलगायत सबै गतिविधि निगरानी गर्न सकिने महानिर्देशक खरालले बताए । स्याटेलाइटले दुई वर्षसम्म सन्देश दिन्छ । अहिलेसम्म मुलुकमा बाघले विचरण गर्ने क्षेत्र र कतिसम्म यात्रा गर्छन्, कस्तो क्षेत्रमा बढी विचरण गर्छन् र कुन समयमा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाउन वैज्ञानिक विधि प्रयोग भइसकेको छैन । भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको स्याटेलाइट रेडियो कलरले दिएको संकेतबाटै प्रमाणित भएको थियो । उक्त बाघले नहर, खेत, जंगल र सडक हुँदै उक्त दूरी पार गरेको थियो । नेपालमा पनि ३ हजार २ सय मिटर (छिन्टापु वन क्षेत्र) सम्मको उचाइमा बाघ भेटिएको छ ।
बाघको निगरानी अब उपकरणबाट हुने , गतिविधि पत्ता लागउन सहज हुने अनुमान
0
Share.