चितवन,फागुन ०५ । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके पत्रकारहरुसँगै आफू स्वयम सडक आन्दोलनमा उत्रिने बताउनुभयको छ ।
बुधबार काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नुभयो े,‘श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ, यसका लागि महासंघ सक्रिय हुनुपर्छ, यदि ऐन कार्यान्वयन नआए आफैं सडकमा आउन तयार छु ।’
आफू मन्त्री भएपछि मिडिया मालिक भन्दा पहिले श्रमजिवी पत्रकारहरुका तर्फबाट पत्रकार महासंघसँग संवाद गरेको बताउँद उहाँले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारका पक्षमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्रालय अन्तर्गत रहेको जीवनबृत्ति कोषलाई पत्रकार कल्याणकारी कोषका रुपमा रुपान्तरित गर्ने र कोषमा रहेको पाँच करोड रुपैंयाँलाई बढाएर आगामी आर्थिक बर्ष १० करोड बनाउने प्रतिबद्धता समेत उहाँले जनाउनुभयको छ ।
मन्त्री गुरुङले संचारमाध्यमहरुलाई प्रदान गरिदै आएको लोककल्याणकारी विज्ञापनलाई पनि समावेशी बनाउँदै अनलाइन संचारमाध्यम र केवल टिभीलाई समेट्ने जानकारी दिनुभयो । उहाँले अनलाइन नवीकरण गर्ने सवालमा आर्थिक बर्षको जुनसुकै बेला नवीकरणको प्रावधान मिलाइने उल्लेख गर्नुभयो ।
मस्यौदाका रुपमा तयार हुँदै गरेको सामाजिक संजाल व्यवस्वथापन निर्देशिका नियन्त्रणमूखी नभइ नियमन गर्ने किसिमको हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो ,‘विश्वका देशहरुमा सामाजिक संजालको नियमन गर्ने गरेको छ, नेपालमा पनि त्यो आवश्यक रहेकाले सबैसँग छलफल र बहस गरेर निर्देशिका ल्याइनेछ ।’
सरकार अधिनायकवादी बन्यो, निरंकुश बन्यो र जनताको अहितमा छ भनेर भइरहेको प्रचार गलत भएको बताउँदै उहाँले नेपाली पत्रकारहरुले अब कहिल्यै आन्दोलन गर्नु नपर्ने जिकिर गर्नुभयो । महासंघ अब रुपान्तरित हुनुपर्ने र सत्तापक्ष र प्रतिपक्ष बन्नु नहुने उहाँको सुझाव थियो ।