play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

साउन यता सरकारको पारिश्रमिक तथा सुविधामा ६१ अर्ब ३ करोड खर्च

0

चितवन,फागुन ०४ । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सार्वजनिक खर्च कटौती गर्न ल्याएको नीति निष्प्रभावी देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउँदै अतिरिक्त खर्चमा व्यापक कटौती गरिने बताएको थियो । तर, मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको खर्च विवरण हेर्दा सरकारले अपेक्षाअनुसार सार्वजनिक खर्चमा कटौती गर्न सकेको देखिएन । गत आवको तुलनामा सार्वजनिक खर्चमा वृद्धि भएको छ । साउनदेखि पुससम्मको सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा ६१ अर्ब ३ करोड २८ लाख रुपैयाँ खर्च भएको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा ३.०८ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा ५९ अर्ब २० करोड ७५ लाख रुपैयाँ पारिश्रमिक र सुविधामा खर्च भएको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्ने, अनिवार्य दायित्व व्यवस्थापन गर्ने र निर्माणाधीन आयोजनालाई निरन्तरता दिन सार्वजनिक खर्च कटौती आवश्यक रहेको भन्दै ल्याइएको मापदण्डको पालना भने कमजोर देखिएको मन्त्रालयको आँकडाले देखाएको छ । यो वर्ष पुँजीगत खर्च बढाउन सकेको देखिँदैन । ६ महिनामा जम्मा ५० अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा १९.६० प्रतिशत कम हो । अघिल्लो आवको पुस महिनासम्म पुँजीगत खर्च ५७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा सरकारले १३ अर्ब २७ लाख रुपैयाँ बराबरको मालसामान उपयोग गरेको छ । यो रकम गत आवको तुलनामा १०.८० प्रतिशत कम हो । अनुदान र सहायतामा समेत गत आवको तुलनामा बढी रकम खर्च गरेको छ ।सरकारले सहायताका नाममा ६ महिनामा ५४ करोड ३५ लाख खर्च गरेको छ । यस्तो रकम गत आवको यसै अवधिमा ३३ करोड ७६ लाख रुपैयाँ थियो ।

Share.

Leave A Reply