चितवन फागुन ,०१ । दशौँ विश्व रेडियो दिवसका अवसरमा चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ एमले विपद्मा रेडियोको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तीन शत्रमा सञ्चालित कार्यक्रममा रेडियोको इतिहास, विपद्को समयमा रेडियोका चुनौति, गुणस्तरीय कार्यक्रम उत्पादन, लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा सिनर्जी एफएमका प्रोग्राम म्यानेजर मनोज घिमिरे, क्रियाशील महिला पत्रकार चितवनकी पूर्व अध्यक्ष शान्ता अधिकारी र हाम्रो एफएमका कार्यक्रम प्रस्तोता दीनेश पाशा श्रेष्ठसँग पत्रकार पूजा परियारले बहस सञ्चालन गर्नुभएको थियो । दोस्रो सत्रमा देवघाट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापा मगर, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र विजय सामुदायिक एफएफका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले आफ्ना विचारहरू राख्नुभयको थियो ।
तेस्रो तथा अन्तिम सत्रमा भने चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी अध्यक्ष एवं सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन लाल प्रधानले बोल्नुभएको थियो । दोस्रो सत्रमा सिनर्जी एफएमका प्रोग्राम कोअर्डिनेटर रवीन सुवेदी तथा अन्तिम सत्रमा एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले बहस सञ्चालन गर्नुभएको हो ।
बहस कार्यक्रममा चितवन र नवलपुर जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसंघको वर्ष २०१२ को सभाले फेब्रअरी १३ तारिखलाई विश्व रेडियो दिवसको रूपमा मनाउने घोषण गरेको थियो । त्यस समयदेखि नै विविध कार्यक्रमको आयोजना गरी रेडियो दिवस मनाउने गरिएको छ । सन् १९२० मा अमेरिकामा केडिकेए रेडियोको स्थापना भएपछि व्यवसायिक रेडियो प्रसारणको थालनी भएको थियो । नेपाल भने वि.सं २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्रै रेडियोको युगमा प्रवेश गरेको हो ।