सुरक्षा निकाय कोरोना खोपको प्राथमिकतामा परेन

0

माघ,३०।
सरकारले सुरक्षा निकायलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउन कुनै पनि चासो नदेखाएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल, जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरी र राज्यको सम्रग सुरक्षामा खटिने नेपाली सेनालाई सरकारले खोप लगाउन प्राथमिकतामा नराखेको भन्दै सरकारको आलोचना सुरु भएको हो ।कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा स्वास्थ्य सेवामा खटिएकाहरुलाई खोप लगाएको थियो भने दोस्रो चरणमा पत्रकार र नेपालस्थित विदेशी नियोगका कर्मचारीलाई खोप लगाउन शुरु गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई खोप उपलब्धी गराइदिन पहल गरेपनि सरकारले प्राथमिकतामा राखेको छैन ।सरकारले फागुन १ गतेदेखि शुरु गर्ने कोरोनाविरुद्धको खोपमा नेपाल प्रहरी र नेपाली सेनालाई समेत समेटिएको छैन । सरकारले स्थानीय जनप्रतिनिधिसहित सशस्त्र प्रहरी बलको राजधानी उपत्यकामा कार्यरत र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका १२ हजार जनालाई भने खोप उपलब्ध गराउने भएको छ ।अग्रपंक्तिमा खटिएका सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुले फागुन १ गतेबाट बीओपी र राजधानी उपत्यकामा कार्यरतहरुले खोप लगाउने भएका छन् ।संघीय सरकारले नेपाल प्रहरी र नेपाली सेनालाई खोप उपलब्ध नगराए पनि स्थानीय निकायसँग समन्वय गरेर नेपाल प्रहरीका अग्रमोर्चामा खटिएका ३ हजार २ सय भन्दा बढी अधिकृत तथा जवानले खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्ष वसन्त कुँवरले जानकारी दिनुभयो । भारतबाट १० लाख डोज खोप अनुदानमा आएको थियो ।

Share.

Leave A Reply