चितवन,माघ २२ । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताए । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो ।
पहिलो चरणबाट बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइने
0
Share.