चितवनमा सिमसार क्षेत्र साँघुरिँदै ,वन्यजन्तु मानव बस्ती पस्ने समस्या

0

चितवन,माघ २० ।
वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्यधिक आद्रता भएको जमीनलाई सिमसार भनिने बताउनुहुन्छ । उहाँका अनुसार त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करीब एउटै स्तरमा हुन्छ अनि बोटबिरुवाको अस्तित्व रहेको हुन्छ, जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई सिमसार जनाउने गरेको उहाँको भनाइ छ । नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिमरूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबालीसमेत पर्छ । सुवेदी पछिल्ला दिनहरुमा सिमसार खुम्ँिचदै जानु मानव जातिका लागि हितकर नभएको बताउनुहुन्छ । विश्वभर नै सिमसार क्षेत्र घट्दै गएको भन्दै उहाँले त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको बताउनुभयो । वन र वन्यजन्तुका लागि देशमै महत्वपूर्ण मानिएको चितवनमा सिमसार घटेको प्रभाव प्रस्टरुपमा देखिन थालेको सुवेदीको भनाइ छ । चितवन रााष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन र वन्यजन्तुको कल्पना सिमसारविना गर्न नसकिने बताउनुहुन्छ । ठूला र दुर्लभ वन्यजन्तु पानी पिउने, आहाल खेल्ने मात्रै होइन, यही ओसिलोपनाले वनस्पति उम्रिएर आहार तयार हुन्छ । निकुञ्ज र वन क्षेत्रमा सिमसार मासिँदै जाँदा वन्यजन्तु मानव बस्ती पस्ने समस्या बढेको छ । सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित भएको उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहनुभएका हाल प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा पानीको स्रोत घट्दै जाँदा यसमा आश्रित वन्यजन्तु प्रभावित भएको बताउनुहुन्छ । RSS

Share.

Leave A Reply