चितवन , माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ । मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्ने कार्यक्रम राखिएको छ । यसैबीच ओलीको विरोधमा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले कालो पर्चामा ‘असंवैधानिक कदम खारेज गर’, प्रतिगामीहरु होसियारलगायतका नारा लेखेर सडकमा छरेका छन्। महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ ।
महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । चितवन प्रचण्डको गृहजिल्ला हो ।