दोस्रो चरणको कोरोनाविरूद्ध खोप खरिद पक्रिया सुरू

0

माघ,१५।
सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ ।नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया सुरू गरेको हो ।यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको जनाइएको छ ।नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य प्रस्तुत गरेको स्रोतले जनाएको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने निकट स्रोतले जनाएको छ ।अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप खरिद पक्रिया अघि बढाएको हो ।यसका लागि आवश्यक बजेट व्यवस्था भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जनाएका थिए । खोप अभियानको पहिलो दिन बुधबार ९ हजार जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो । विज्ञले ढुक्क भएर खोप लगाउन आग्रह गर्दै आएका छन् । हिजो खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply