कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने

0


माघ,१३।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको देउवा इतर समूहका नेताहरुको बैठकले मंगलबारको केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सभापति देउवालाई दबाव दिने निष्कर्ष निकालेको थियो । सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् । देउवा निकट सहमहामन्त्री डा. महत भने आन्दोलन गर्ने वा नगर्नेबारे पार्टीमा विवाद नै नभएको दाबी गर्छन् । उनले भने, ‘अधिवेशनको तयारी र सरकारको विरोधमा गर्ने आन्दोलनबारे छलफल हुन्छ र पार्टीले एकमतका साथ निर्णय गर्छ ।’

Share.

Leave A Reply