भरतपुर महानगरपालिकाले करको दायरा बढाउँदै

0


माघ,१०।
भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । भरतपुर महानगरपालिकाले अहिलेसम्म २५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । असार मसान्तसम्ममा ९० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्ट्रेशन सेवा शुल्कसमेत छ । गएको वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो ।महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर(घरमा टोली परिचालन गर्न थालिएको बताउनुहुन्छ । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्याउने लक्ष्यका साथ अभियान थालिएको छ । महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउनुहुन्छ । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उहाँको भनाइ छ । महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउनुहुन्छ । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उहाँले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गर्नुभयो ।

Share.

Leave A Reply