माघ,९।
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् ।आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए । बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।यद्यपि आजको बैठकको कार्यसूची के–के हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन । पहिलो दिन भएकाले बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठले आजका लागि बैठकको मिति तोकेका हुन् ।कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने÷नहुने टुंगो छैन । यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।
बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव टेबुल हुने
0
Share.