नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा ढिलासुस्त, धूलो र हिलोले यात्रुलाई सास्ती

0


माघ,६।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीले यात्रुले हरेक दिन सास्ती भोग्न बाध्य छन् । साढे दुई घण्टामा पार गर्न सकिने यो खण्डमा अहिले गाडीलाई ८ घण्टासम्म लाग्दा सबैले सास्ती खेप्नुपरिरहेको हो । यस राजमार्गको ११५ किलोमिटर सडकखण्ड पछिल्लो आठ महिनायता धुलाम्मे र हिलाम्य बन्दा सार्वजनिक यातायातका सवारी साधन मात्र नभई आकस्मिक सेवा प्रवाह समेत प्रभावित भएको छ । अझै दुम्किबासदेखि बर्दघाटसम्मको १५ किलोमिटर सडक पार गर्न अहिले सवारीसाधनलाई चार घण्टा लाग्ने गर्छ । गैँडाकोटको थुम्सी पार गरेसँगै ठाउँठाउँमा सडकलाई डाइभर्सन गरी पुल निर्माण गरेको देख्न सकिन्छ । सडकको उकालो र ओरालोमा भारतबाट आउने १२ चक्के मालबहाक ट्रक दैनिकजसो सडकमै बिगिँ्रदा गाडीले सडकमा रात बिताउनुपर्ने अवस्था छ । त्यस्तै सडकको दायाँबायाँका होटल व्यवसायी र पसले समेत धूलोबाट आजित भएका छन् । गएको वर्षायाममा दाउन्ने क्षेत्रमा धेरै ठाउँमा खसेको पहिरोले सडक बिगारेको थियो । पाँच वर्षसम्म नारायणगढ–मुग्लिङ सडकखण्डमा सास्ती भोग्दै आएका यात्रु र सवारी चालकले फेरि सात वर्ष बुटवल–नारायणगढ सडक खण्डमा सास्तीको यात्रा सुरू भएको हो । यो अवस्था तत्काल सुधार हुने सम्भावना देखिँदैन । सडक मार्गमा सास्ती सुरू भएपछि यस क्षेत्रका यात्रुहरू सडकबाट भन्दा हवाइमार्ग हुँदै भैरहवा–काठमाडौं यात्रा गर्न थालेका छन् । धूलोले गर्दा ट्राफिक प्रहरी समेत ठाउँ–ठाउँमा बस्न नसक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । दैनिक रूपमा गैँडाकोटको थुम्सीदेखि बर्दघाटसम्म दैनिकरूपमा गाडीको लामो जाम हुने गर्छ । भरतपुर–बुटवल रूटमा चल्ने गाडीका चालक हरि रेग्मीले नारायणगढबाट बुटवल पुग्न ७ घण्टा लाग्ने बताए ।

Share.

Leave A Reply