उखु किसान भन्छन्( सरकारले यसपटक पनि झुट बोल्यो,,सहमतिको म्याद सक्कियो

0


माघ,६।
चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।२१ दिनभित्र किसानले दाबी गरेको बक्यौता भुक्तानी गर्ने सहमतिपछि पुस १३ गते किसानहरुले दुई साता लामो काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेर घर फर्किएका थिए ।आन्दोलन जारी रहँदाको समयमा भुक्तानी तीव्र भए पनि त्यसपछि भने उद्योगहरुले भुक्तानी कम गर्दै लगेको उनको आरोप छ ।उद्योगीले दिएको तथ्यांकका आधारमा सरकारले किसानले भुक्तानी पाएको प्रचार गरेर झुट बोलेको संघर्ष समितिका सचिव हरिश्याम राय यादवले बताए । करोडौं रकम किसानले पाएको प्रचार गरेर सरकारले उद्योगीको बचाउ गरेको तर किसानले सबै बक्यौता नपाएको रायको भनाइ छ । संघर्ष समितिले प्रारम्भिक रुपमा संकलन गरेको विवरणमा किसानले सबै रकम भुक्तानी नपाएको समितिले जनाएको छ । २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने मौखिक सहमति किसान प्रतिनिधिहरुसँग भएको संरक्षक मिश्रको दाबी छ । उद्योगीले सबै रकम भुक्तानीको सुनिश्चितता मन्त्रालयमार्फत गरेको बताइए पनि किसान प्रतिनिधिले कुनै आधार नपाएको उनले बताए ।

Share.

Leave A Reply