पुष २६,चितवन ।
पत्रकार तुलमान गुरुङले १० हजार राशिको लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्। तमू सञ्चारकर्मी संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गरे।
संघका केन्द्रीय अध्यक्ष रविन गुरुङका अनुसार पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार गुरुङलाई पुरस्कृत गरिएको हो। गुरुङ झन्डै एक दशकदेखि चितवनमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय छन्। बेसो च्यानल, सिनर्जी एफएम, अन्नपूर्णपोष्ट दैनिकमा काम गरिसकेका उनी हाल चितवनपोष्ट दैनिकमा कार्यरत छन्। उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका सचिवसमेत हुन्।
यसैगरी, संघले शनिबार नै अन्य ७ जना पत्रकारलाई पनि पुरस्कृत गरेको छ। २० हजार रुपैयाँ राशिको पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट आईलाइट्स टुरिजमका क्रियटिभ डाइरेक्टर अनिता गुरुङ र रेडियो नेपालका कार्यक्रम उत्पादक अमरध्वज लामा पुरस्कृत भएका छन्।
आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार रेडियो अन्नपूर्णका दील गुरुङ तथा तमू ल्होसार मूल आयोजक समिति तमू पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका दैनिकका वरिष्ठ उपसम्पादक दीपेन्द्र गुरुङले प्राप्त गरे। दुवै पुरस्कारको राशि १०र१० हजार रुपैयाँ छ। सिआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार नयाँपत्रिका दैनिकका गोरखा संवाददाता केशव गुरुङलाई प्रदान गरिएको छ। जसको राशि ५ हजार रुपैयाँ छ।
५ हजार रुपैयाँ राशिकै सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनका अनिता गुरुङ र नागरिक खबरका केशव गुरुङ पुरस्कृत भए। कार्यक्रममा संघले प्रकाशन गर्दै आएको वर्ष पुस्तक गुरुङ न्युज डटकमसमेत लोकार्पण गरिएको छ।