पुष १४,चितवन । कोरोना बीमा दावीको रकम भुक्तानीले पछिल्ला दिनमा केही गति लिएको छ। बीमा समितिका अनुसार सोमबारसम्म कुल १६ हजार ९४९ जनाले बीमा रकम बुझेका छन्। उनीहरुलाई कुल १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्। समितिका अनुसार थप १३ हजार ८३६ जनालाई रकम भुक्तानीका लागि सबै प्रक्रिया पुरा भएको छ। हालसम्म कुल ३० हजार ७८५ जनाको प्रक्रिया पुरा भएकोमा १६ हजार ९४९ ले भुक्तानी लिइसकेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । विभिन्न १९ वटा निर्जीवन बीमा कम्पनीमा कुल १७ लाख ११ हजारले कोरोना बीमा गरेका छन्। २ हजार ८ सय आवेदन स्वीकृतिका लागि प्रक्रियामा छ। १९ वटा निर्जीवन बीमा कम्पनीमा कोरोना दावी भुक्तानीका लागि परेका आवेदन एकद्वार प्रणालीबाट प्रमाणित गर्ने काम भइरहेको छ। इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणसँग आवेदकको नाम प्रमाणित गरेर मात्रै कोरोना बीमा रकम भुक्तानीका लागि स्वीकृति दिइन्छ समितिका अनुसार ८ हजार ६९६ वटा आवेदन महाशाखामा प्रमाणीकरणका लागि पठाइएकोमा ४८१० वटा स्वीकृत भएर आइसकेको छ। त्यस्तै ३ हजार ७९४ वटा आवेदन प्रमाणिकरणको प्रक्रियामा छ। बीमाको दावी माग गर्दै निवेदन दिएकामध्ये ८९ वटा दावी खारेज भएको छ। दोहोरिएका कारण र महाशाखाबाट प्रमाणित नभएका कारण पनि ती आवेदन रद्द भएको बीमक संघले जनाएको छ।
कोरोना बीमा दावीको रकम भुक्तानीले गति लिदै ,१ अर्ब ६५ करोड चुक्ता
0
Share.