play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

पार्टी निर्णयविपरीत संवैधानिक नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको तयारीमा

0

मङ्सिर २९, सत्तारुढ दल (नेकपा) मा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टिसँगै पार्टी विवाद उत्कर्षमा पुगेका बेला उनै ओली फेरि एकलौटी ढंगले अघि बढ्न लागेका छन् । उनले रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्न मंगलबार बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को बैैठक मंगलबार बिहान नौै बजेका लागि बोलाएका हुन् । नेकपाभित्रको आन्तरिक संकट समाधानमा सहमति खोज्ने प्रयास भइरहेका बेला पार्टीमा छलफल नै नगरी ओलीले ठुलो संख्यामा नियुक्ति गर्ने तयारी गरेपछि नेकपामा पुन असन्तुष्टि बढ्ने निश्चित भएको छ । ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै छलफल नै नगरी संवैधानिक परिषदको बैठक बोलाएर नियुक्तिको तयारीले नेकपाभित्रको विवाद थप चर्किने पार्टी नेताहरुले नै बताएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले संवैधानिक परिषदको बैठकबारे दुई अध्यक्षबीच सोमबार साँझसम्म कुनै छलफल नभएको जनाएको छ ।
यसअघि नेकपाको भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रिय तथा दीर्घकालीन महत्त्वका निर्णय र नियुक्ति गर्दा कार्यकारी अध्यक्ष प्रचण्डसँग र आवश्यकताअनुसार पार्टीभित्र समेत छलफल गर्ने निर्णय गरेको थियो । तर, यो निर्णय विपरीत ओली संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने अन्तिम तयारीमा लाग्दा समेत छलफल नगरेपछि प्रचण्ड ओलीको कार्यशैलीप्रति थप असन्तुष्ट बनेका छन् । ती सचिवालय सदस्यकाअनुसार स्थायी समिति बैठक समेत जारी रहेका बेला त्यसलाई समेत लत्याएर ओली अघि बढ्न खोजेका छन् । उनले यस्तो कार्यशैलीले पार्टीमा थप विग्रह ल्याउने निश्चित भएको पनि बताए । नेकपा विवादमा सहमति खोज्ने उदेश्यले ओलीकै आग्रहमा कहिले १० दिन त कहिले ३ दिन बैठक स्थगित गरिरहेको अवस्थामा राष्ट्यि महत्त्व राख्ने नियुक्तिहरुका सवालमा भने ओली एक्लै अघि बढ्न खोजेकाले नेकपाभित्र अर्को गम्भीर संकट पैदा हुने खतरा बढेको ती सचिवालय सदस्यहरुको बुझाइ छ । नेकपाभित्र विवाद बढ्दै जाँदा ओलीले यसअघि पनि काँग्रेस सभापति शेरबहादुर देउवासँगसत्ता सहकार्यको प्रस्ताव गरेका थिए । तर, ओलीको यस्तो प्रस्ताव स्वीकार्नु नहुने भन्दै काँग्रेसभित्रबाटै चर्को विरोध भएको थियो । यसअघि ओलीले संवैधानिक परिषदको नियुक्तिको विषयमा छलफल गर्न भन्दै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पठाएका थिए । संविधानअनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश,सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक परिषद्को व्यवस्था छ । तर हाल उपसभामुख पद भने रिक्त छ । लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षसहित चार आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित २ आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त खाली छन् । त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित चार आयुक्त तथा समावेशी आयोगमा अध्यक्षसहित तीन आयुक्त रिक्त छन् ।

Share.

Leave A Reply