गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीद्वारा सुपर ओभरमा वाग्मती पराजित

0

मङ्सिर २७, गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीले सुपर ओभरमा वाग्मतीलाई हराएको छ ।सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीकाे लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।


यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।उसका लागि सुनिल धमला र विक्रम सोबले समान ३७/३७ र रसिद खानले २७ रन बनाउनुबाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए । प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती खेल्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी खेल्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल आउँदो मंगलबार हुने छ ।

Share.

Leave A Reply