मंसिर २६, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ आर्थिक लेनदेनको विषयमा मुछिएका छन्। बिहीबार बिहान नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवम् पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै नेता श्रेष्ठले उनीसँग गरेको आर्थिक लेनदेनमा आधारित कुराकानीको अडियो र भिडियो सार्वजनिक भएको हो।सार्वजनिक भएको भिडियोमा प्रवक्ता श्रेष्ठले कमानसिंह लामासँग दुई करोडबढी कारोबारको विषयमा कुराकानी गरेको सुन्न सकिन्छ। यो गोप्य गफको भिडियो अहिले सार्वजनिक भएको हो।
प्रवक्ता श्रेष्ठसँग कमानसिंहले उक्त कुराकानीमा दुई करोडको हिसाब खोजेका छन्। नेता श्रेष्ठले प्रष्ट जवाफ नदिए पनि उक्त डिलमा सहभागी भएको देखिन्छ। अडियोमा श्रेष्ठले ३० र ७० प्रतिशतको कुरासमेत गरेका छन्। उता लामाले भने फसेको आफ्नो पैसा जसरी पनि पाउनुपर्ने अडान लिएका छन्। यसमा नारायणकाजीले दुई पक्ष मिलाउनेजस्तो गरेर डिल गरेको देखिन्छ। स्वर्गीय कमानसिंह नारायणकाजीसँगै चौमबाट माओवादी हुँदै नेकपामा आएका हुन्।
लामा र प्रवक्ता श्रेष्ठबीच सुशन कर्मचार्यलाई दिएको साढे दुई करोडको हिसाबबारे छलफल भएको छ। सुशन नारायणजीकी सहयोगी हुन्। लामाले पाउनुपर्ने दुई करोड नपाउँदा उपचार अभावमा लामाको निधन भएको उनका परिवारका सदस्यले बताएका छन् । लामाकी बुहारी मिनु लामाले उपचार अभावले उनको मृत्यु भएको बताएकी छन् ।
यता प्रवक्ता श्रेष्ठले भने अडियो प्रकरणमा आफू दोषी नरहेको बताएका छन् । श्रेष्ठले यो विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । उनले यो सबैकुरा आफ्नो चरित्रहत्या गर्न ल्याएको आरोप लगाएका छन् । उता नेता श्रेष्ठले मध्यस्थता गरेको भनिएको याम्बालिङ्ग हाइड्रोपावर प्रालिले विज्ञप्ति सार्वजनिक गर्दै सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।ध्यानाकर्षण विज्ञप्तिमा २०५७ साल फागुन २४ गते कमानसिंह लामा र उनी पत्नी इन्द्रमाया तामाङले सञ्चालन गरेको हाइड्रोपावर गम्भीर आर्थिक संकटमा परेपछि संकट समाधानका लागि पटकपटक अनुरोध गरेपछि नेता श्रेष्ठले समाधानको प्रयासका लागि छलफल मात्र गरेको उल्लेख गरिएको छ ।विज्ञप्तिमा यो विषयमा सत्यतथ्य जानकारी लिन लामाकी पत्नी तामाङसँग सम्पर्क गर्न सकिनेसमेत उल्लेख गरिएको छ । त्यसैगरी विज्ञप्तिमा भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरिएको छ । हाइड्रोका कार्यकारी अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा नाम भने कसैको राखिएको छैन ।
नेता नारायणकाजीले करोडौँ घोटाला गरेको आरोपसहितको अडियो र भिडियो सार्वजनिक
0
Share.