मंसिर २७, चितवन ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड(१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्। प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए।
’मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन। त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन। उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, ’उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ। मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन।’
आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए। ’त्यो भिडीओले मेरो बारेमा केही भ्रम समेत पारेको छैन। तर पनि जुन प्रकारको षडयन्त्रपूर्वक ढंगले प्रहार भइरहेको छ यो दुःखद छ,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टचार र भ्रष्टिकरणका विरुद्धमा मैले आन्दोलन चलाइरहेको छु। त्यसलाई कमजोर पार्ने प्रयास हो।म यसबाट बिचलित हुदिन।’
प्रवक्ता श्रेष्ठ निकट एक नेताका अनुसार सिन्धुपाल्चोकमा याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए। तर परियोजना अघि बढ्न नसक्ने भएपछि लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेको थियो। त्यसपछि लामाले सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए ।
कमानले करिब तीन करोड ऋण चुक्ता गर्नुपर्ने समस्या देखाएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइदिएको स्रोतको प्रस्टीकरण छ।
त्यहीँ ऋण मिलान गर्ने विषयमा सुसन कर्माचार्य र कमानसिंहबीच मनमुटाव बढेको र श्रेष्ठले दुई–तीनपटक सहजीकरण गरिदिएको श्रेष्ठ निकट श्रोतले बतायो। कमानले बैंकको लोन म आफैं तिर्छु सेयर वापतको पैसा चाहियो भनेर श्रेष्ठकहाँ बारम्बार पुग्ने गरेको उनको भनाइ छ । लामाले भनेजस्तो गर्न श्रेष्ठ तयार नभएपछि उनी कार्यकारी अध्यक्ष प्रचण्डकहाँ पुगेका थिए। स्रोतका अनुसार प्रचण्डले पनि मिल्न सुझाव दिएका थिए।