मङ्सिर २६, मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ÷छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो ।सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको हो ।एशियाली विकास बैङ्क (एडिबी) ले सुरुङको सबै भागको अवलोकन गर्नका लागि चारजना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनीहरुको अध्ययन प्रतिवेदनका आधारमा अहिले पानी हाल्न ठीक छ÷छैन भनी निर्णय गरिने उनले बताए।
पन्तका अनुसार उनीहरु निर्माणस्थलमा रहेर त्यहाँ सुरुङ हेरिरहेका छन् र त्यसकै आधारमा प्रतिवेदन दिनेछन् ।प्राविधिक टोलीले अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने देखिएको छ । एडिबीका ती प्रतिनिधिले डिसेम्बरभित्रमा अध्ययन सकाउने अपेक्षा गरिएको छ । जम्मा २७ किमी लम्बाइको सुरुङसँगै द्वारहरुको अवस्था हेर्न समय लाग्ने बताइएको छ । उनीहरुले सबै ठीक छ अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ ।सुरूङमा चार द्वारमा सुधार गर्नुपर्नेमा त्यो काम अघि बढाइएको सूचना अधिकारी पन्तले बताए। उनका अनुसार द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने काम भइरहेको छ। यसअघि त्यसको प्वाल हाल्ने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो। फ्रेमलाई कङ्क्रिट राखेर केही दिन हेर्नुपर्ने उनले बताए।