चैत ७ गतेदेखि बन्द सदर चिडियाखाना भोलिदेखि खुल्ने,साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने

0

मंसिर २४,चितवन । चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ ।सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् ।

भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनुभयो । हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेले जानकारी दिनुभयो ।
ई सेवामार्फत आज बेलुकादेखि नै अनलाइन टिकट खुलाइने उहाँले बताउनुभयो । चिडियाखाना प्रवेशका लागि १५० रुपैयाँको टिकट काट्नु पर्ने छ । विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रुपैयाँमा नै टिकट पाउने छन् । यस्तै ४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ लाग्ने छ ।चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव भएपछि चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् ।

Share.

Leave A Reply