play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

मल लिन नागरिकता अनिवार्य,सरकारले आफ्नै कमजोरीका कारण मल ल्याउन सकेन

0

मङ्सिर २४,चितवन। चितवनका किसानका लागि रासायनिक मल खरिद गर्न नागरिकता वा लालपूर्जा अनिवार्य गरिएको छ । नागरिकता वा लालपुर्जा लिएर मल खरीद गर्न विक्रि केन्द्र पुगे पनि मल पाइन्छ भन्नेमा ढुक्क छैनन् किसान । सरकारले आफ्नै कमजोरीका कारण मल ल्याउन सकेको छैन । तर, जाडोमा काम्दै मलको आशामा घण्टाैं लाईनमा बस्ने नागरिकलाई मल दिनुको साटो थप दुःख दिइरहेको छ ।

चम्पानगरीकी सावित्री सुवेदी बिहान हतारहतार गर्दै भरतपुर– ६ गीतानगरमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा मल लिन साढे १० बजे नै पुगेकी थिइन् । उनका अघि लामो लाइन थियो । विहानै आउने भनेको भएपनि नागरिकता खोजेर फोटो कपि गरी मल लिन आउँदा ढिलो भएछ । उनले भनिन् ‘घरको काम पनि गर्नै पर्‍यो, गाईभैसी, बाख्राको धन्दा सकेर निस्कँदा अबेर भयो । चुनावको बेला मतदाता पत्र बनाएर थन्काएको नागरिकता कता परेछ । नागरिकता खोज्दैमा बिहान गयो । फोटोकपी गरेर आउँदा ढिलो भएछ । त्यहि पनि पाइन्छ कि भनेर लाइनमा बसेको तर, म यो वडाको नभएकाले मल पाइन । ’

यसअघि सधैँ यही सहकारीबाट मल खरीद गर्ने उनलाई यो कुरा पहिला थाहा थिएन । उनको घर भरतपुर १३ मा पर्छ । उनलाई तोरी, जौ घाँस ,गैहुँ मा हाल्नको लागी ३५ केजी मल आवश्यक थियो ।

१५ महिनाको छोरा काखमा च्यापेर सहकारीमा मल लिन आएकी केशरबाघकी सरिता थपलियालाई मकै खेतीका लागि एक बोरा मल चाहिएको थियो । सहकारीले मल सक्कियो भनेपछि दुधे बालक काखी च्यापेर रित्तो हात निराश हुँदै फर्किइन् । अरुको जमिन ठेक्कामा लिएर खेती गरेकी उनलाई एउटै पिरालो छ उत्पादन कम भए साहुलाई ठेक्का के बुझाउने !

देवनगरका ८२ वर्षका रामनाथ तिवारी तोरी खेतीको लागी मल किन्न सोमबार पनि सहकारी आएका थिए । तर, उनले मल पाएनन् । ‘१४ कठ्ठा तोरीका लागि २५ केजी मल भएपनि पुग्ने थियो तर पाइएन’ उनले भने । भोली पाइन्छ भनेपछि उनी मंगलबार मल किन्न फेरि सहकारी आए तर उनको पालोमा मल सकियो ।

उनले भने ‘२१ वर्षसम्म सहकारी अभियन्ता भएर सहकारीमा काम गरेको हुँ । मल लिन यो साल जस्तो दुःख कहिल्यै पाएको छैन । मलको लागि नागरिकता र लालपुर्जा समेत बोकेर आउनु पर्ने ?’ उनले प्रश्न गरे ।

Share.

Leave A Reply