गणतन्त्रको विकल्प खोज्दै सडकमा उफ्रिनुको कुनै अर्थ छैन,कसैले फुरफुर नगरे हुन्छ: जनयुद्धका घाइते

0

मङ्सिर २३, १० वर्षे जनयुद्धका साथै २०६२/०६३ मा तत्कालीन सात राजनीतिक दल र माओवादीबीचको सहकार्यमा भएको जनआन्दोलनको बलमा स्थापित गणतन्त्रविरुद्ध सडकमा एउटा समूहले प्रदर्शन थालेको छ ।
केही साता यता राजतन्त्रको पक्ष र गणतन्त्रको विरोधमा उक्त समूहले विभिन्न सहरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा नाराजुलुस गर्दै आएका छन् । गणतन्त्रका लागि भएको संघर्ष, चाहे त्यो जनयुद्ध होस् या जनआन्दोलन– हजारौँले आफ्नो जीवन बलिदान गरेका छन्, हजारौँ घाइते भएका छन् ।गणतन्त्रका लागि नेतृत्व गरेका दलहरुले यसबीचमा संविधानसभामार्फत संविधान निर्माण गरे । राजनीतिक स्थिरताको हिसाबले २०७४ सालको निर्वाचनमा जनताले कम्युनिस्ट गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमतका साथ सरकार सञ्चालन गर्ने जिम्मेवारी सुम्पिए । सोही अनुसार गठबन्धनका दुवै घटक तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ ।गणतन्त्रका प्रतिफल वितरण गर्ने हिसाबले यति सहज राजनीतिक अवस्थाका बाबजुद अहिले राजावादीहरु अभूतपूर्व रुपमा संगठित भएर युवाहरुलाई गणतन्त्रको विरोधमा कसरी उतार्न सफल भइरहेका छन् भन्ने प्रश्न आफ्नै ठाउँमा छ ।गणतन्त्रका लागि प्राण आहुति दिएकाहरुको परिवार, गणतन्त्रकै लागि भएको संघर्षमा घाइते तथा अंगभंग भएकाहरुले पछिल्लो गतिविधिलाई कसरी हेरिरहेको छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण देखिन्छ । किनकि, त्यो परिवारले जुन व्यवस्थाका लागि आफ्नो ज्यानको परवाह गरेन, उनीहरुकै संघर्षका परिणामस्वरुप आएको व्यवस्थाविरुद्ध यतिबेला केही समूह सडकमा उत्रिनुलाई त्यो व्यक्ति वा परिवारले कुन रुपमा हेरिरहेको छ भन्ने विषय यो व्यवस्थाका लागि मार्गदर्शन पनि हो ।

दार्चुलाको अपीहिमाल गाउँपालिका निवासी भगतसिंह बोहरा जनयुद्धका घाइते हुन् । उनी देशलाई असहज परिस्थिति र अस्थिरतातिर धकेल्न अराष्ट्रवादी तत्वहरु सल्बलाइरहेको बताउँछन् । यो अवस्था आउनुमा उनी केही हदसम्म सत्तारुढ दलभित्रको कलहलाई दोष दिन्छन् ।

‘खासगरी नेपाली जनताले ठुलो त्याग, बलिदानी गरेर ल्याएको गणतन्त्रलाई यो या त्यो ढंगबाट कार्यान्वयन हुन नदिन र मसानमा पुगेको राजतन्त्रलाई ब्युँताउन राजावादी तत्वहरु लागिरहेका छन्,’ उनले भने, ‘यस्तो किन र केका लागि भयो भन्दा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाको आन्तरिक विवादले पनि राजावादी सल्बलाउने मौका मिल्यो भने अर्कोतिर सरकारले सीमा नाका सम्बन्धी गरेका निर्णयबाट अत्तालिएर त्यस्ता तत्वहरुले आन्दोलन गर्ने दुष्प्रयास गरेका छन् ।’

देश फेरि अस्थिरतातिर गयो वा जनयुद्ध र जनआन्दोलनले ल्याएका उपलब्धिलाई धरापमा पार्ने काम भयो भने आफूजस्ता जनयोद्ध्रा जस्तोसुकै त्याग गर्न पछि नपर्ने उनले बताए ।
जनयुद्धका अर्का घाइते जगत धामी पनि राजतन्त्र अन्त्यका लागि आफ्नो घरपरिवार नभनी ज्यानको बाजी लगाएको उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि अझै पनि बलीदानी दिन तयार रहेको बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिका–२ निवासी उनले भने, ‘राजतन्त्र फेरि ब्युँतिन्छ भनेर कसैले सपना नदेखे हुन्छ, राजनीतिक पार्टीका गतिविधि र कमजोरीका कारण पक्कै पनि राजावादीहरु सल्बलाएका छन्, सरकारले जनताका लागि, देशका हितका निम्ति र भ्रष्टाचार अन्त्यका लागि जसरी काम गर्नुपर्ने हो, त्यो नहुँदा पनि उनीहरु सल्बलाएका छन् तर यसको अर्थ गणतन्त्रकै विकल्प खोज्नुपर्छ भन्ने होइन ।’

 

संघीयतालाई कार्यान्वयन हुन नदिन विभिन्न चलखेल भइरहेको उल्लेख गर्दै उनले यस्ता हर्कतलाई निस्तेज गर्न राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए ।

कैलालीको धनगढी उपमहानगरपालिका–३, विशालनगर निवासी नहकुल जिसी जनआन्दोलनका घाइते हुन् । उनी पनि राजनीतिक दलहरुका कमजोरीका कारण अहिले राजावादीहरु सक्रिय हुन थालेको बताउँछन् ।
‘पछिल्लो समय राजावादी तत्वहरुले जे हर्कत गर्दैछन्, राजनीतिक पार्टीका नेताहरुको कमजोरीका कारण उनीहरुले यस्ता गतिविधि बढाएका हुन्, हामीले ठुलो त्याग र संघर्ष गरेर ल्याएको गणतन्त्र बचाउन आवश्यक परेमा फेरि पनि त्यस्तै त्याग गर्न सक्छौँ,’ उनले भने । तर सरकारले नेपाली जनताले चाहेको विकास, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा निकै काम गर्नुपर्ने खाँचो उनले औंल्याए ।

‘अहिले नेपाली जनतामा वितृष्णा छ, जनआन्दोलनमा, जनयुद्धमा लागेर घाइते भएर अपाङ्ग जीवन बिताउनु परेका हामीजस्तालाई सरकारले यतिका वर्षसम्म बेवास्ता ग¥यो,’ उनले भने, ‘नेतृत्वले जनताका आकांक्षा, गणतन्त्रका योद्धाहरुको बलिदानलाई केन्द्रमा राखेर काम गरेन भने भोलि अर्को परिघटना नहोला भन्न सकिन्न ।’

जनआन्दोलनको समयमा नवलपरासीको सुनवल–५ वनकट्टीका विण्णु पाण्डेयले आफ्नो प्राण आहुति दिए । २०६२ चैत ३० गते आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भयो । त्यतिबेला उनकी श्रीमती भागिरथी पाण्डेयको काखमा ४ महिनाको शिशु थियो, जो आज १५ वर्षको किशोर भइसकेको छ ।

स्थानीय हेल्थपोष्टमा अहेव पदमा करारमा कार्यरत सहिदपत्नी भागिरथी भन्छिन्, ‘वीर सहिदले दिएको बलिदानीका कारण आज मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि सहिदको रगतको पनि सम्मान हुन नसकेकोजस्तो लाग्छ ।’

उनले आफ्नो छोरा र गणतन्त्रलाई समान रुपमा हेरेकी छन् । उनले भनिन्, ‘गणतन्त्रका लागि मेरो पतिले संघर्ष गर्दा पिता के हो भन्ने पनि बुझ्न नपाउँदै टुहुरो भएको मेरो छोरो अहिले १५ वर्षको भयो, यो छोरो हुर्कदैँ गर्दा गणतन्त्र पनि यसैगरी हुर्कदै जान्छ र एकदिन पिडाडिएको वर्ग, आन्दोलनमा घाइते तथा अपांग भएकाहरु, आन्दोलनमा अभिभावक गुमाएका छोराछोरीहरुको जीवनस्तर सफल पार्छ भन्ने सोचेकी थिएँ, तर सोचेजस्तो हुन सकेन ।’

नेताहरु देशको ढुकुटी रित्याउने गरी सत्ता लिप्सामा केन्द्रित हुने तर सहिदका परिवारको दैनिकी, जीविकोपार्जनको अवस्थाप्रति पटक्कै जिम्मेवार नहुने प्रवृत्तिले आफूहरुलाई दुःखी बनाएको उनले बताइन् । उनले संघीयताका नाममा खर्च बढाउने काममात्र भएको, जनतालाई प्रतिफल दिन ध्यान नदिइएको गुनासो पनि गरिन् । ‘ठाउँठाउँमा हुने बेथेतिले गर्दा जनता निराश छन्,’ उनले भनिन्, ‘जनतामा व्याप्त त्यही निराशाका कारणले पनि राजवादीहरुको चलखेल बढेको हो जस्तो लाग्छ ।’

सहिदहरुले सबैको हित हुनेछ, सबैलाई राज्यले समानरुपमा हेर्नेछ भन्ने सोचेर नै बलिदान दिएको जिकिर गर्दै उनले सहिदका सपना पूरागर्नेतर्फ दलहरुले ध्यान दिन नसकेको बताइन् । लोकतन्त्रका लागि सहिदले गरेको त्यागलाई कसैले पनि अवमूल्यन गर्न नहुने उनको भनाइ छ ।

 

Share.

Leave A Reply