play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

शिक्षक हत्याका प्रत्यक्षदर्शी भन्छन्, ‘झिसमिसेमै आए, पाता फर्काए, ५ सय मिटर पर लगेर गाेली हाने’

0

मङ्सिर २३, बिहान झिसमिसमै रिचार्ज कार्ड किन्न भतिजा मदन श्रेष्ठको घर पुगेका थिए, शिक्षक राजेन्द्र श्रेष्ठ । मदनले ओछ्यान छोडेकै थिएनन् । रिचार्ज लिएर निस्किएका काका राजेन्द्र त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए ।
‘मलाई त विश्वासै लागेको छैन’, मदन भन्छन्, ‘फोनफान गर्नुपर्‍यो भनेको त पैसै सिद्धिएछ भनेर रिचार्ज लिएर निस्कनुभएको थियो । एकैछिनमा यस्तो खबर सुन्नुपर्‍यो ।’
मोरङको उत्तरी भेगमा पर्ने पहाडी गाउँ हो, बर्खे । यहीँको सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रलाई आज बिहानै साढे ६ बजे घरनजिकैको जंगलमा पुर्‍याएर अज्ञात समूहले हत्या गर्‍यो ।
छिमेकीसमेत रहेका मदनका अनुसार ब्याउन भरेभाेलि भएको गाईको रेखदेखमा गोठमै थिए, राजेन्द्र । उनकी श्रीमती घरदेखि अलि परको बाख्रा फार्ममा गएकी थिइन् । एक्लै गोठमा गाई स्याहारिरहेका राजेन्द्रलाई छ जनाकाे टाेली आएर केही कुरा सम्झाउनु छ भन्दै लगेको मदनले बताए । ‘हात पछाडि बाँधेर लगेका रहेछन्’, अर्का एक जना काका पर्नेले आफूलाई सुनाएको उद्धृत गर्दै उनी भन्छन्, ‘कहाँ लगेको भनेर ती काकाले सोध्दा फर्काइदिहाल्छौँ भनेछन् ।’
यो कुरा थाहा पाएपछि आफूसहित १२/१५ जना राजेन्द्रलाई लगेको बाटो पछ्याउँदै गएकाे मदन बताउँछन् । ‘५ सय मिटर उता गएपछि उहाँलाई गोली हानेर मारेको भेटियो’, उनी भन्छन्, ‘त्यसरी लैजानेहरू को थिए र किन मारे भन्ने केही थाहा छैन । भुइँमा रगत लतपतिएको थियो ।’
दुई जनाबाहेक अरु मास्क लगाएर आएका थिए भने एक जनाले पेस्तोलसमेत देखाएको मदनले बताए ।
दिउँसाे २ बजेसम्म प्रहरीसमेत घटनास्थलमा पुगेको छैन । प्रहरीले भूमिगत विप्लव समूहले हत्या गरेको अनुमान गरे पनि यकिन हुन सकेको छैन । ‘कहीँ कतैबाट डर धम्की वा चन्दा मागेको हामीलाई थाहा छैन’, मदन भन्छन् ।
इलामको चुलाचुली गाउँसँग जोडिएको मोरङको पहाडी यो गाउँ दुर्गम मानिन्छ । १५/१६ घर रहेको बर्खे गाउँका अभिभावक नै थिए, राजेन्द्र । ‘कसैले केही अभर पर्दा सहयोग गर्ने उहाँ नै हुनुहुन्थ्यो’, उनी भन्छन्, ‘अब त गाउँ नै टुहुरो बनेको छ ।’
२०४५ सालदेखि राजेन्द्रले पढाउन थालेका हुन् । पेन्सन भए पनि गाउँलेकै आग्रहमा उनले अवकाशसमेत नलिएर पढाइरहेका थिए । स्कुलमा प्रधानाध्यापकसहित दुई शिक्षकको दरबन्दी थियो । ‘जिम्मेवारी लिने कोही नभएकाले हामीले उहाँलाई विद्यालय सम्हाल्ने वैकल्पिक जनशक्ति नभई नछाड्न भनेका हौँ’, त्यहीँको मनोहरा आधारभूत विद्यालयका शिक्षकसमेत रहेका मदन भन्छन्, ‘आज उहाँ सबैलाई छोडेर जानुभयो ।’
मधुमल्लादेखि टाँडी हुँदै बर्खे गाउँ आउने सडक गाउँलेले चन्दा उठाएर खनेका थिए । बर्खेबाट सबैभन्दा बढी चन्दा दिने राजेन्द्र नै भएको मदन बताउँछन् । त्यतिबेला राजेन्द्रले १ लाख रुपैयाँ सहयोग गरेका थिए । ‘यस्ता सहयोग उहाँ गरिरहनुहुन्थ्यो’, मदनको भनाइ छ, ‘कोही रोग बिमार वा अन्य कारणले समस्या परेमा उहाँले टारिदिनुहुन्थ्यो । अब त हाम्रो भरथेग नै गुम्यो ।’
शिक्षकबाट अवकाशपछि राजेन्द्र नमुना बाख्रा फार्म बनाउने योजनामा थिए । त्यसका लागि एक वर्षअघि फर्म दर्ता गराएका थिए । अहिले उनको खोरमा ४०/५० वटा बाख्रा छन् । अवकाशपछि बाख्रा थप्ने र शिक्षकबाट कृषक बन्ने जाेस चढेको थियो उनमा । ‘सबै गाउँलाई गाई बाख्रा पाल्नुपर्छ भनेर उकासिरहन्थे’, मदन भन्छन् ।
राजेन्द्रका छोरा मधुमल्लाको खेती सम्हालेर बस्छन् भने छोरीको विवाह भइसकेको छ ।
जिल्ला प्रहरी माेरङका प्रमुख एसपी सन्ताेष खड्काले घटनाकाे जानकारी पाउनासाथ प्रहरी टाेली घटनास्थलतर्फ गएकाे बताए । उनले भने, ‘अहिलेसम्म विप्लव समूहले गरेकाे शंका छ । बाँकी प्रहरी टाेली पुगेर अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’ शिलापत्रबाट साभार

Share.

Leave A Reply