विवेकशील र साझा पार्टी बीच बुधबार पार्टी एकता हुदै

0

मङ्सिर २२, विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि बुधबार एकीकरणको घोषणा गरिँदैछ ।अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको विवेकशीलकी नेतृ रञ्जु दर्शनाले बताइन् । उनका अनुसार कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गरेरै एकीकरण घोषणा गर्ने विषयमा छलफल भइरहेको छ ।
साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएपछि विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाएका थिए । उनीहरुले १८ मंसिरमा प्रेस विज्ञप्ति समेत जारी गर्दै तत्काल एकता गर्न उपयुक्त समय नभएको बताएका थिए ।तर रञ्जु दर्शनाले भने यसपटक दुई पार्टीबीच एकीकरणको जग बलियो भएको बताउँदै उनले अब आमनागरिकको वैकल्पिक शक्तिप्रतिको आशा र भरोसालाई टुट्न नदिने बताइन् ।यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए । पार्टी फुट्नु १६ महिना अघि मात्रै दुई पार्टीबीच एकता भएको थियो ।

Share.

Leave A Reply