play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण शुरु

0

मङ्सिर २२, भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि भरतपुरमा सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो ।तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्रालयले रु ५५ करोड रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन । नगर प्रमुख रेनु दाहालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछि फिर्ता भएको थियो ।त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुर महानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । दुवै ठाउँको जग्गा खोजी र आवश्यक प्रक्रिया पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको दाहाल बताउँछिन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुर्याउँदा लामो समय लागेको थियो ।क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वय समितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो ।यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पुर्याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो ।दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्ने गरी काम शुरु गर्न भनिएको छ । शीर्ष नेता र सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्ने गरी काम अघि बढ्ने उनको भनाइ छ ।

दाहालले भनिन्, ‘महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउने छ ।’ राजनीतिक दललगायत सबैको साथ र सहयोगका कारण परियोजना शुरु भएको उनि बताउँछिन।सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्देही र शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ ।बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् ।मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनको भनाइ छ ।सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा, २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उनको भनाइ छ ।
अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्याल बताउँछन् । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सभागृह देशकै नमूना हुने अर्यालले जानकारी दिए । हालसम्म यति सुविधासम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको उनले जिकिर गरे । ठेकेदार कम्पनीले १५ दिनभित्र काम थाल्ने गरी सम्झौता गरिएको छ । ठेकेदार कम्पनीका तर्फबाट आयोजना व्यवस्थापक नहकुल खड्काले सरसफाइको काम तत्काल हुने भन्दै अन्य काम पुस लागेपछि शुरु गरिने बताए । अबको २७ महिनाभित्रमा काम सम्पन्न गर्नुपर्ने हुन्छ । खड्काका अनुसार समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाइने छ ।सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । यो सभागृह निर्माणपछि मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता हट्ने छ । रासस

Share.

Leave A Reply