कोरोना परिक्षणमा सरकारले चासो नदिँदा संक्रमित घट्दै,संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी

0

मंसिर २२,चितवन । कोभिड–१९ को पीसीआर परीक्षण केही दिनयता उल्लेख्य रूपमा घटेपछि संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण भएको छ । सरकारी प्रयोगशालामा केही महिनाअघिसम्म दिनमा १० हजारभन्दा बढी नमुनाको पीसीआर परीक्षण हुने गरेकामा हाल ६ हजार हाराहारी परीक्षण भइरहेको छ । सरकारले परीक्षणमा कमी ल्याउने मनसायले बनाएको टिप्पणी गर्दै विज्ञहरूले न्यून परीक्षणले कुनै पनि बेला संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनीसमेत दिएका छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पीसीआर परीक्षण प्रक्रियालाई सरकारले ‘नियोजन’ गर्न खोजेको बताए ।

‘परीक्षण गराउन गएकाहरू स्वास्थ्य संस्थाले तपाईं निःशुल्कको दायरामा पर्नुभएन, शुल्क तिर्नुपर्छ भन्दा त्यत्तिकै फर्कने गरेका छन्,’ उनले भने । उनले हाल कन्ट्याक्ट ट्रेसिङ नभएर पनि नमुना कम संकलन भइरहेको बताए । वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले वाग्मती प्रदेशमा ३ दिनयता ६० देखि ७० प्रतिशतसम्म परीक्षण निजी प्रयोगशालामा भइरहेको बताए । कोभिड परीक्षण गर्ने सबैभन्दा बढी निजी प्रयोगशाला वाग्मती प्रदेशमा छन् । डा. बीसीले विभिन्न बाध्यताका कारण आमनागरिकले खुलेर परीक्षण गराउन नचाहने गरेको बताए । ‘सरकारले समेत परीक्षण गराउनुस् भनेर प्रोत्साहन गरेको पाइएको छैन,’ उनले भने । हाल कुनै बाध्यकारी परिस्थितिमा मात्र परीक्षण गराउनेहरू बढी देखिएको डा.बीसीको भनाइ छ । मुलुकको केन्द्रीयस्तरको एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा पहिले दिनमा हजारौंको पीसीआर परीक्षण गरेको थियो । हाल एक–दुई सय नमुनाको मात्र परीक्षण भइरहेको छ ।

Share.

Leave A Reply