मंसिर २१, एन्टिजेन परीक्षणलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन् । एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजेनलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका हुन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको आनुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजेनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता रहेकाे बताउनुभयो । त्यसकारण एन्टिजेनबाट फल्स (गलत) रिपोर्टसमेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताउनुभयो ।एन्टिजेन परीक्षण गर्दा कहिलेकाहीँ कोभिड–१९ सङ्क्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताउनुभयो ।
एन्टिजेन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । एन्टिजेनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उहाँको भनाइ छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरूमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिस्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउनुभयो । अहिले प्रयोगमा आएका एन्टिजेन परीक्षणहरू कुनै पनि आधिकारिक निकायबाट प्रमाणित भइसकेको छैन । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि आपत्कालीन स्वीकृति मात्रै दिएको बन्जाराले बताउनुभयो । अहिले सबै ठाउँमा एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेको र यसको नतिजा उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य सङ्गठनले ८० प्रतिशतभन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्याे भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न सकिने पनि बन्जाराले बताउनुभयो ।
एन्टिजेन परीक्षण पीसीआरको विकल्प हुनै नसक्ने विज्ञहरुको ठहर
0
Share.