मङ्सिर २०, राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेको छ । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेको राजावादीहरुको भनाइ छ । सोही क्रममा वीर गोर्खाली अभियानले पनि चितवनमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्याली प्रदर्शन गरेको छ । ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै आज मोटरसाइकल र्यालीसहित विशाल प्रदर्शन भएको हो ।राष्ट्रिय झण्डा र पूर्व राजारानी (ज्ञानेन्द्र–कोमल) शाहको तस्बिर अंकित टिसर्ट लगाएर भरतपुरस्थित पारस बसपार्कबाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोकबाट पुनः पारस बसपार्कमा पुगेर र्याली कोणसभामा परिणत भएको हो ।र्यालीमा करिब १० हजारभन्दा धेरै मोटरसाइकल सहभागी रहेको आयोजकको दाबी छ ।
र्यालीपछि पारस बसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे ।उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकारलगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।
कार्यक्रम सञ्चालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।विगतदेखि राजसंस्था र राष्ट्रियताका लागि आवाज उठाउँदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघसंस्थाहरुलाई एकै ठाउँमा संगठित गर्ने काम वीर गोर्खाली अभियानले गरेको बताइएको छ ।
उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।