मङ्सिर १९, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् ।वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् ।
अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो । मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।
मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् । आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् ।