मङ्सिर १८, जनता समाजवादी पार्टीको समायोजन प्रकृया शुरु भएसँगै पार्टीमा विवाद शुरु भएको छ । प्रदेशहरुमा पार्टीको समायोजन प्रकृया शुरु भएर पूर्णता नपाउँदै विभिन्न ठाउँमा विवाद उत्पन्न भएको हो । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाख १० गते एकीकरण भएको थियो । तर, एकीकरण भएसँगै नेतृत्वको लागि अन्तरिक विवाद शुरु भएको थियो । त्यो विवाद मिलाउन झण्डै चार महिना लाग्यो ।नेतृत्व र केन्द्रीय कमिटीको विवाद समाधान भएपछि प्रदेश, जिल्ला, स्थानीय तहलगायतमा समायोजनको प्रकृया शुरु भएको छ । पार्टीको कार्यकारिणी समितिले निर्देशिका तयार गरी पार्टीको समायोजन शुरु गरेको छ । तर, अहिले शुरुवातमै प्रदेश १ र लुम्बनी प्रदेशमा समायोजनमा भएको विवाद बाहिर आएको छ । प्रदेश १ मा तत्कालिन समाजवादी पार्टीले एकतर्फी रुपमा पार्टी समायेजनको प्रकृया शुरु गरेको भन्दै तत्कालिन राजपा नेपालका नेताहरुले त्यसको विरोध गरेका छन् ।
जसपा नेपालले जारी गरेको समायोजन निर्देशिका विपरित प्रदेश १ मा तत्कालिन राजपा नेपाललाई कुनै जानकारी नदिइ समाजवादी पार्टीले जनता समाजवादी पार्टीको नाम राखेर निर्देशिकाविपरित समायोजन प्रकृयालाई प्रभाव पार्ने विभिन्न निर्णय तथा क्रियाकलाप गरेको भन्दै त्यसप्रति राजपा नेपालका नेताहरुले आपत्ति जनाएका छन् । तत्कालिन राजपा नेपाल प्रदेश १ का अध्यक्ष फक्तलुङ योङहाङ र मुख्य सचिव सत्यनारायण साहले जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधिले समायोजन प्रकृयालाई सहज बनाउन नसक्ने भएकाले त्यस्ता कार्यप्रति सचेत भइ पार्टी समायोजनका निम्ति सहज वतावरण बनाउन पूर्व समाजवादी पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।