भरतपुर कारागारबाट कैदी फरार भएको घटनाको छानबिन कार्य सम्पन्न :छानविन समितिद्वारा प्रतिवेदन पेश

0

मङ्सिर १८, भरतपुर कारागारबाट कैदी फरार भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।गएको मंसिर ११ गते साँझ ५.३० बजेको समयमा जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षिय कैदीबन्दी रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।श्रेष्ठले भलिबल खेल्ने नेटको जाली खोलेर कारागारको पर्खालको काँडेतारमा अड्काएर त्यसमै झुण्डिएर भागेको कारागार प्रमुख कमलप्रसाद काफ्लेको दावी छ । गत साउन २० गते जर्बजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानीका लागि कारागार पठाइएको थियो ।कारागार सुरक्षाका लागि २८ जना जनपथ प्रहरी खटिएका छन् । १६ वटा सिसी क्यामेरा, ७३ जना आन्तरिक सुरक्षा र १० जना कारागार प्रशासनका कर्मचारी छन् ।


कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरूङले सुरक्षामा ध्यान दिन नसक्ने प्रहरीलाई निलम्बन गरिएको जानकारी दिए ।कारागार प्रमुख काफ्लेले प्रहरीको डिउटी परिवर्तन हुने मौका छोपेर कैदी फरार भएको दावी गर्दै आएका छन् । फरार श्रेष्ठको खोजी जारी छ । छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कारागारको निगरानी, सुरक्षा र प्रशासन अति नै दयनीय भएको पाइएको बताए ।जुनसुकै बेला पनि कैदीहरु भाग्ने र घटना हुनसक्ने अवस्था आफूहरुले पाएको उनको भनाइ छ । प्रतिवदेनमा दीर्घकालमा उपयुक्त, सुरक्षित र व्यवस्थित कारागार बनाउन सुझावसमेत दिइएको छ ।कारागार प्रशासन, सुरक्षा प्रशासन, आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकोले विभागिय कारर्वाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ ।भरतपुर कारागारबाट अहिलेसम्म ७ जना कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने क्रममा, अस्पतालमा उपचारको क्रममा भागेको कारागार प्रशासनले जनाएको छ ।तीमध्ये अहिलेसम्म एक जना मात्र पुनः पक्राउ परेका छन् । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ जना कैदी बन्दी राखिएका छन् ।

Share.

Leave A Reply