play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आज अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवस :चितवन सहित देशभर मनाइँयो

0

सिनर्जी डेक्स
मंसिर १८, आज अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवस चितवन सहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।”कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज भरतपुरको बिरेन्द्र क्याम्पसको प्रांगणमा २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो। अपांगता उत्थान जिल्ला समन्वय समिति भरतपुरको आयोजनामा तथा चितवन नेत्रहिन संघ भरतपुरको समन्वयमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाकि उपप्रमुख पार्वती शाह ठकुरीले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाका दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको थियो।अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन सकिएको बताउदै उपप्रमुख शाहले आउदो दिनमा महानगरले हरेक क्षेत्रमा सहयोग गर्दै अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।


यसैगरी, सोहि कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले संविधान, नीति र कानुनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाले नेपालमा गणतन्त्र स्थापना भएपछि बनेको सरकारले सीमान्तकृत र पछाडिपरेका समुदायलाई विकासको मूलधारमा ल्याउनका लागि नीति-नियम, कानुनहरू संवेदशील र समावेशी बनाएको बताउनुभयो ।कार्यक्रमका सभापति तथा अपाङ्ग उत्थान जिल्ला समन्वय समिति भरतपुरका अध्यक्ष संजय बरालले नेपालमा अपाङ्गताको क्षेत्र, यसमा भइरहेका क्रियाकलाप, विद्यमान चुनौती र अबका दिनमा कसरी दिगोरूपमा अघि बढ्न सकिन्छ भन्नेबारेमा धारणा व्यक्त गर्नुभयो ।नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्य नि:शुल्क हुने व्यवस्थालाई सुनिश्चित गरे पनि सो अनुसार कानुन नबन्दा ती सुविधा आफूहरुले पाउन नसकेको गुनासो गर्नुभयो ।यसले नेपालमा रहेको ठानिएका ६ लाख भन्दा बढी अपाङ्गता भएका व्यक्ति अन्यायमा परेको उहाको दाबी छ।सरकारी अधिकारीहरूले भने राज्यले थुप्रै प्रयासहरू गरिरहेको जनाएका छन्।सोहि अवसरमा बोल्दै अन्य अतिथिहरुले पछिल्लो समय बनेका सरकारी कार्यालय अपाङ्ग मैत्री भएपनि धेरै पहिले बनेका कार्यालय अपाङ्ग मैत्री नहुदा आफुहरुलाई समस्या भएको बताएका थिए। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रम राज जोशी, महानगरका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष अरुण पिडित भण्डारी लगायतको सहभागिता रहेको थियो।


उता राष्ट्रिय अपाङ्ग महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभरि उठाउन सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसङ्घले सन् १९९२ मा डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । हालसम्म विश्वभरि यस दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।नेपालमा पनि सन् १९९३ देखि विभिन्न कार्यक्रम गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।

Share.

Leave A Reply