मंसिर १८,चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको जनाउँदै राष्ट्रपतिले यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छिन् । उनीहरूलाई क्षमता र आवश्यकतानुसारका रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छिन् ।