वैदेशिक रोजगारीमा जाने बढ्दै, कात्तिकसम्म २० हजार बाहिरिए

0

मंसिर १७ ,चितवन । कोभिड–१९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले पुनः श्रम स्वीकृतिलाई खुला गरेपछि विदेश जानेको संख्यामा वृद्धि आएको हो । विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो । तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ । कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार पछिल्लो ४ महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ रोजगारीमा जाने संख्याभन्दा एकपटक गएर बिदामा फर्किएकाहरु पुनः जाने क्रम धेरै छ । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुलेपछि पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो । सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो ।

Share.

Leave A Reply