सडकको शिलान्यासमा तामझाम धेरै, प्रगति भने सुस्त

0

सिनर्जी डेक्स
मंसिर १५, सघन शहरी विकास कार्यक्रम अन्तर्गत विभिन्न दुई प्याकेजमा सम्पन्न हुने भनिएको भरतपुर महानगरपालिकाको रिङ्ग रोड, लिङ्क रोड तथा ढल निर्माण कार्यको शिलान्यास २०७५ असार २९ गते गरियो । शहरी विकास मन्त्रालयद्वारा सञ्चालित सो आयोजनाको शिलान्यास पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा चितवन जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले गरेका थिए । शिलान्यास कार्यक्रममा उनले सो आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास दिलाएका थिए । तैपनि सो आयोजनाको प्रगति सोचेअनुसार अघि बढ्न भने सकेको छैन । २०७७ असार मसान्तसम्ममा सक्नुपर्ने लक्ष्य लिइएको सो आयोजनाले सम्झौता गरिएभन्दा थप चार महिनाको समय लिइसकेको छ । तर काम अझै पनि ५० प्रतिशतभन्दा बढी नसकिएको आयोजनाको परामर्शदाता कार्यालय शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनको भनाइ छ ।
आयोजना सकिने समयसीमा नाघेकाले यसअघि सम्झौता गरिएको भन्दा बढी खर्च हुनसक्ने डिभिजन कार्यालयको अनुमान छ । “आयोजना सुरु भएदेखि नै विभिन्न खालका बाधा आइरहे । जसकारण भनिएको समयमा आयोजना नसकिने अवस्थामा आएको हो”, कार्यालयका इञ्जिनियर माधव कटुवालले भने, “खर्च भने सम्झौता गरिएभन्दा बढी हुनसक्ने देखिएको छ ।” प्याकेज १ अन्तर्गतको आयोजनाका लागि कान्छाराम÷सन्तोषी÷डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार ७८५ रुपैयाँ ४८ पैसाको निर्माण सम्झौता भएको थियो । प्याकेज २ अन्तर्गतको रिङ्ग रोड, लिङ्क रोड तथा ढल निर्माणका लागि भने रमन÷शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार ८२४ रुपैयाँ १६ पैसाको सम्झौता भएको हो ।


ठेकेदार कम्पनीको ढिलासुस्तीमा कोभिड–१९ महामारी थपिएपछि अधिकांश समय काम नै हुन नसकेको इञ्जिनियर माधव कटुवालले बताए । फेरि विभिन्न स्थानमा सीमासम्बन्धी विवाद उत्पन्न हुँदा पनि सडकको बिस्तारको काममा ढिलो हुन गएको उनको भनाइ थियो । “सुरुवाती चरणमा निर्माण कम्पनीले नै ढिलो गरे । उनीहरूलाई हामीले पटकपटक ताकेता ग¥यौं । तर काम अगाडि बढ्न सकेन”, उनले भने । “शहिद चोक–बेल चोक–धर्मचोक सडक खण्डमा बाटोलाई चौडा बनाउने क्रममा विवाद समेत भए । सडकलाई १६ मिटरको बनाउन त्यसको बीच भागबाट दुवैतर्फ बराबर ठाउँ छाड्नुपर्ने हुन्थ्यो”, उनले अगाडि थपे, “तर केही स्थानीयहरूले आफ्नोतर्फबाट एक इञ्च पनि जमिन छाड्न मान्नुभएन । जसकारण आयोजनामा थप ढिलाइ हुन गयो ।” बेल चोकदेखि शहिद चोकसम्मको सडक खण्डमा २०७५ सालको मंसिरदेखि नै ढल खनेर छाडिएको थियो । सोही खण्डमा लामो समयसम्म माटो र गिट्टी थुपारिँदा पैदलयात्रीले ठूलै सास्ती भोगेका थिए । लामो सयम लिएर भएपनि शहिद चोकदेखि लंकू पुलसम्मको खण्डमा भर्खरै पिचको काम सकिएको डिभिजन कार्यालयले जनाएको छ ।
रिङ्ग रोडमा पर्ने रुखहरू काट्न जिल्ला वन कार्यालयको स्वीकृति पर्खनु पर्दा पनि बढी समय लाग्न गएको शहरी विकास तथा भवन निर्माण डिभिजनको स्वीकारोक्ति छ । “सडकको क्षेत्रभित्र पर्ने ठूला रुख काट्नका लागि वनसँग अनुमति लिन नै धेरै समय लाग्यो”, इञ्जिनियर कटुवालले सुनाए, “फेरि गएको मनसुनमा रामघाट–शिवघाट क्षेत्रमा डुबान भएका कारण पनि रिङ्ग रोडको कामले गति पाउन सकेको थिएन ।” यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण पनि रिङ्ग रोड र लिङ्क रोडका काम प्रभावित बन्न पुगेका थिए । हाल भने कामदारहरूले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्माणको काम गरिरहेका छन् ।
हाल लंकूको धर्मचोक बजार क्षेत्रमा ढल निर्माण कार्य भइरहेको छ । “कचपचे चोकबाट शहिद चोकतिर बग्ने पानीलाई धर्मचोकमा केही उकालो पर्ने देखिएपछि छलफल गर्न केही समय काम रोकेका थियौं । अहिलो सो काम सुचारु भइसकेको छ”, कटुवालले बताए । उनका अनुसार ढलमा पानी बग्नका लागि ५० सेन्टिमिटरको प्यासेज हुनेछ ।
“अहिले रिङ्ग रोड, लिङ्क रोड र ढलको बाहिरी स्वरूप तयार भइसकेको छ । अब भने बेस र अस्फल्टको काम बाँकी छ”, प्याकेज १ तर्फका इञ्जिनियर आशिष श्रेष्ठले भने । बेस भनेको कालोपत्रे मुनि बिछ्याइने ग्राभलको तह हो भने अस्फल्ट भनेको कालोपत्र हो । प्याकेज नं २ मा जस्तै १ मा पनि ५० प्रतिशतको काम सकिएको उनले बताए । “लगभग आधा काम सकिएको छ । निरन्तर काम भएका खण्डमा आउने ६–७ महिनामा काम सक्ने लक्ष्य राखेका छौं”, उनले थपे ।

Share.

Leave A Reply