विद्यालयहरूमा पठनपाठन सुचारु

0

शिव गौतम ।
मंसिर १५, भीडभाड हुने स्थानमा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै चैत यता देशभरका विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्था बन्द गरिएका छन् । कार्तिक महिनाको अन्त्यतिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ प्रकाशन गरेसँगै विद्यालयहरूलाई पठनपाठन सुचारु गर्न बाटो खुलेको छ । करिब ९ महिनादेखि बन्द रहेका चितवन र आसपास जिल्लाका विद्यालयहरू पनि सोही कार्यविधिलाई टेकेर खुल्न थालेका छन् । लामो समय घरैमा बिताउन बाध्य भएका विद्यार्थीहरूलाई कक्षाकोठामा उपस्थित गराएर पठनपाठन अघि बढाउनेतर्फ विद्यालयहरू सोझिएका हुन् ।
भरतपुर महानगरपालिका वडा नं ४ मा रहेको विद्या विकास इंगलिस बोर्डिङ स्कूलले पनि पठनपाठन सुचारु गरेको छ । त्यहाँ हाल कक्षा ८ देखि ९ सम्मका विद्यार्थीहरूलाई शिक्षकशिक्षिकाले कक्षाकोठामै उपस्थित भएर पढाइरहेका छन् । “अहिलेका लागि बिहान ७ देखि ९ः१५ बजेसम्म ४५ मिनेटका दरले तीन घण्टीको पढाइ सञ्चालन गरिरहेका छौं । बिस्तारै तल्लो तहका कक्षालाई पनि दिनको दुई चरणमा बाँडेर पढाइलाई निरन्तरता दिने योजनामा रहेका छौं”, स्कूलका प्रधानाध्यापक ज्ञानहरि आचार्यले बताए । अहिले एउटा कक्षाकोठामा अधिकतम २० जना र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थीलाई राखेर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । त्यस्तै विद्यार्थीहरूलाई घरैबाट पिउने पानी ल्याउन निर्देशन दिइएको जनाउँदै अत्यावश्यक बाहेकका अवस्थामा विद्यार्थीहरूलाई शौचालयको प्रयोग नगर्न पनि अनुरोध गरिएको उनले बताए । मास्कको प्रयोग भने अनिवार्य बनाइएको विद्यालयले जनाएको छ ।
शैक्षिक शत्र आधाभन्दा बढी बितिसकेको बताउँदै आचार्यले विद्यार्थीहरूको कक्षाकार्य तथा गृहकार्य जाँच्न पनि पर्याप्त समय नरहेको सुनाए । “हामीले पाठ्यक्रमको महत्त्वपूर्ण अंश मात्रै पढाएर भएपनि विद्यार्थीको शैक्षिक शत्र खेर नजाओस् भन्ने पक्षमा छौं । त्यसका लागि कक्षाकोठाभित्र हुने पठनपाठनका साथै अनलाइन माध्यमबाट हुने कक्षालाई पनि जोड दिने सोचेका छौं”, उनले थपे । अनलाइन माध्यम सिकाइका लागि उपयुक्त भएपनि त्यसमा विद्यार्थीको शतप्रतिशत उपस्थिति नरहनु भने विडम्बना रहेको उनले स्वीकारे । “आमाबुबा विदेशमा भएका छोराछोरीले हजुरबुबा÷हजुरआमालाई छक्काएको पनि भेट्यौं । कतिपय विद्यार्थीले घरमा बिजुली गएको वा नेट नभएको, भन्ने जस्ता बाहाना बनाएर अनलाइन कक्षाबाट उम्किन खोजेको पनि भेट्यौं”, प्रधानाध्यापक आचार्यले गुनासो पोखे ।
विद्या विकास स्कूलले दशैँ अगावै विभिन्न कक्षाको अनलाइन तथा कक्षाकोठामै उपस्थित हुने गरी दुवै विधिबाट आन्तरिक परीक्षा समेत लिएको थियो । “सानो कक्षाका विद्यार्थीलाई कक्षाकोठामै उपस्थित गराएर परीक्षा सञ्चालन गरेका थियौं । एउटा कक्षामा चार जना विद्यार्थी र उनीहरूका चार अभिभावकलाई राखेका थियौं”, स्कूलकी शिक्षिका नमूना आचार्यले बताइन् । परीक्षामा समेल हुन आउने विद्यार्थी र अभिभावकलाई जनस्वास्थ्यका मापदण्डको पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिएको पनि शिक्षिकाले सुनाइन् । परीक्षाको निरीक्षण भने आफूहरूले कक्षाकोठा बाहिर बसेरै गरेको उनले स्पष्ट गरिन् ।
यता भरतपुर महानगरपालिकाको वडा नं ४ कै लक्ष्मी माध्यमिक विद्यालयमा पनि आइतबारदेखि पठनपाठन सुरु गरिएको छ । विद्यालयका प्रधानाध्यापक रमेशबाबु ढकालले बताएअनुसार विद्यार्थीहरू दिनको दुई चरणमा उपस्थित हुने गरी पठनपाठन सुरु गरिएको हो । त्यसका लागि बिहान १० देखि मध्याह्न १२ बजे र दिउँसो १ देखि ३ बजेसम्मको समय छनौट गरिएको उनले बताए । “एउटा घण्टी ३० मिनेटको हुने गरी कार्यतालिका बनाएका छौं”, उनले भने । विद्यालयले ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई हप्ताको ३ दिन उपस्थित हुने गरी कार्यतालिका बनाएको छ । शिशु देखि ८ कक्षासम्मका विद्याथीहरूका लागि भने हप्तामा दुई दिनको कक्षा छुट्याइएको छ ।


विद्यालयमा मास्क र सेनिटाइजरको प्रयोगलाई अनिवार्य पारिएको पनि प्रधानाध्यापक ढकालले बताए । “कुनै विद्यार्थीको मास्क चुँडिएमा वा घरबाट आउँदा लगाउन भुलेका खण्डमा हामीले नै उनीहरूलाई मास्क प्रदान गर्ने गरेका छौं । फेस सिल्ड भने शिक्षकशिक्षिकाका लागि मात्रै अनिवार्य गरिएको छ”, उनले सुनाए । हालसम्म विद्यालयकै खर्चमा मास्क, सेनिटाइजर, साबुन, लगायतका सामग्रीको जोहो गरिएको बताउँदै थप सामग्री खरिदका लागि भने वडाबाट पनि सहयोगको अपेक्षा राखेको उनले बताए । यस्तै, विद्यार्थीहरूलाई कक्षामा आवश्यक पर्ने कलम, इरेजर, जियोमेट्री बक्स, लगायतका शैक्षिक सामग्री साथीहरूसँग नमाग्न र त्यस्ता सामग्रीको व्यवस्था आफैँले गर्न पनि निर्देशन दिइएको विद्यालयका शिक्षक काशीनाथ सापकोटाले जानकारी दिए ।
वैकल्पिक विधिबाट गरिएको सिकाइको प्रभावकारीता कस्तो रह्यो भन्ने प्रश्नमा भने उनले मिश्रित प्रतिक्रिया दिए । “महामारी जस्तो बेलामा अनलाइन र वैकल्पिक विधि सिकाइका लागि राम्रा माध्यम हुनसक्थे । यद्यपि उपकरणको अभावमा धेरै विद्यार्थी वैकल्पिक विधिको सिकाइमा पनि छुट्न पुगे”, निराश हुँदै प्रधानाध्यापक ढकालले भने । कतिपय विद्यार्थीले बुबाआमाको फोनबाट अनलाइन कक्षामा उपस्थित हुन्छु भनेर जानकारी गराएका भएपनि कक्षा सुरु हुने समयमा बुबाआमाले फोन लिएर अन्तै निस्कँदा विद्यार्थीको सिकाइ प्रभावित हुन पुगेको उनले सुनाए । करिब एक सय जना विद्यार्थी संख्या रहेको कुनै एउटा कक्षाका करिब ४०÷५० जनामात्रै वैकल्पिक विधिको सिकाइबाट लाभान्वित हुन सकेको आँकडा उनले प्रस्तुत गरेका थिए ।
उता तनहुँको देवघाटमा अवस्थित परमानन्द संस्कृत गुरुकुलमा पनि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै पठनपाठन सुरु गरिएको छ । “हाल कक्षा १२ का २१ जना विद्यार्थी गुरुकुलकै छात्रावासमा बसेका छन् । पीसीआर परीक्षण गराएर छात्रावासमा आएका विद्यार्थीहरूलाई बाहिर निस्कन निषेध गरिएको छ”, त्यहाँका सहप्राध्यापक पूर्णशंकर गौतमले बताए । दिउँसोको कक्षा खुला चौरमा सञ्चालन गराउने गरिएको गौतमले जानकारी दिए । बिहानीपख जाडोको समयमा भने अध्यापकसँग भौतिक दूरी कायम गरी हलभित्र कक्षा सञ्चालन गर्ने गरिएको उनले सुनाए ।
“प्रत्यक्ष उपस्थित भएर विद्यार्थीलाई पढाउँदाको जस्तो आनन्द जुम मिटिङबाट कक्षा सञ्चालन गर्दा नहुँदो रहेछ”, लक्ष्मी मा.वि. लंकूका शिक्षक हरिदास सापकोटाले भने ।

Share.

Leave A Reply