
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
मंसिर १२ चितवन । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो।
मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय वर्षमान पुन र योगेश भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए। बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।