कार्तिक ७ , चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी गुप्तचरसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा खतरा देखिएको बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्री ओलीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको बताएका हुन्।
बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ्ग (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेट शिष्टाचार भएको बताएका थिए।
थापाले त्यस भेटलाई शिष्टाचार भेट भन्नु अकूटनीतिक र हास्यास्पद भएको बताएका छन्। साथै यस विषयमा अनुसन्धानसमेत गर्नुपर्ने उनको माग छ।
‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो,’ थापाले लेखेका छन्,’ प्रधानमन्त्रीको यस्तो गैर-राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ। यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।’
नेपाल-भारत बीचको सम्बन्ध जटिल अवस्थामा रहेकाले यसको समाधानका लागि उच्चस्तरीय राजनीतिक तहमा छलफल हुनु पर्नेमा विषयमा नेपाल सरकार स्पष्ट हुनु पर्ने थापाले बताएका छन्।
बुधबार दिउँसो चार्टर्ड जहाजमा काठमाडौं आएका रअ प्रमुख गोयल बिहीबार बिहान नयाँदिल्ली फर्किएका छन्। प्रधानमन्त्री ओलीसँग भएको उनको भेटले भने नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ।