play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

विदेशमा अलपत्र कामदारको टिकट कोषबाटै बेहोर्ने तयारी

0

असार १५, काठमाडौँ । विदेशमा अलपत्र परेका कामदारलाई कल्याणकारी कोषबाट हवाई फिर्ती टिकट बेहोर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा आइतबार पेस भएको छ । श्रम सचिव अध्यक्ष रहेको परराष्ट्र, प्रधानमन्त्री कार्यालय, वैदेशिक रोजगार बोर्ड संलग्न समितिले कार्यविधि बनाएको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधि सकिएर फर्कनुपर्ने अवस्थाका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने, आफ्नो खर्चमा स्वदेश फर्कन नसकी अलपत्र परेका कामदारलाई मात्रै टिकट व्यहोर्ने गरी कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ । श्रममन्त्री रामेश्वर राय यादवले सर्वोच्च अदालतको आदेशलाई पालना गरी कार्यविधि बनाएको बताए । ‘वैदेशिक रोजगारीमा गई अलपत्र कामदारलाई उद्धार गर्ने गरी कार्यविधि बनेको छ,’ रायले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले पारित गरेपछि कार्यान्वयनमा ल्याइनेछ ।’ सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ ।

असार १ गते सर्वोच्च अदालतले ‘…कार्यविधि बनाई योगदानकर्ताका वैधानिक अपेक्षा र कोषको न्यायपूर्ण प्रयोगबीच सन्तुलन कायम हुने गरी तत्काल उद्धारको प्रक्रिया सुरु गर्नू’ भन्दै सरकारलाई आदेश दिएको थियो ।

२०६४ पुस ३० गतेपछि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारबाट कल्याणकारी कोषमा योगदान सुरु भएको हो । श्रम स्वीकृति लिने बेला कोषमा १५ सय रुपैयाँ बुझाउनुपर्छ । स्थापनायता कोषमा झन्डै ८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । जसमा कामदारको कल्याणकारी क्षेत्रमा २ अर्ब ९१ करोडभन्दा बढी खर्च भइसकेको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले बताए । हाल कोषमा ५ अर्ब २ करोड रुपैयाँ बचत छ । बोर्डले कोषबाट गत जेठ ३१ सम्म ८ हजार ९७ जना मृतकका परिवारलाई २ अर्ब ४० करोड ९६ लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । एक हजार ७ सय ५३ जना अंगभंग तथा बिरामी कामदारलाई ३० करोड ५९ लाख, २ सय २ जना अलपत्र कामदारको उद्धारका लागि ३ करोड ५६ लाख कोषको खर्च भएको छ । ३ सय ८३ जनाको अलपत्र शव ल्याउन २ करोड ६६ लाख, मृतकको घरसम्म शव पुर्‍याउन ६ करोड ९६ लाख, ९८ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारबापत ४९ लाख, ५ हजार ४ सय ९७ जना महिला कामदारलाई अभिमुखीकरण तालिमबापत ३८ लाख, मृतकका ६ हजार २ सय ५६ जना छोरोछारीको शैक्षिक छात्रवृत्तिका लागि ६ करोड रुपैयाँ कोषबाट खर्च भएको छ ।

Share.

Leave A Reply