लकडाउनमा बढ्यो साइबर अपराध

0

असार १२ , काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध भने बढेको पाइएको छ । यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

शुक्रबार प्रतिनिधिभाको विकास तथा प्रविधि समतिमा अर्यालले जानकारी दिएअनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी १५३ वटा उजुरी दर्ता भएका छन् । वैशाख महिनामा २३२ र जेठ महिनामा २३४ वटा उजुरी दर्ता भए भने असार महिना (१२ गते)सम्ममा ११४ वटा उजुरी दर्ता भएका छन् ।

यसरी हेर्दा लकडाउन अवधिमा मात्र साइबर अपराधसम्बन्धी ७३३ वटा उजुरी साइबर ब्यूरोमा परेको देखिन्छ । साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार बढी उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन् ।

उनकाअनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म २०४८ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यो अघिल्लो वर्षको भन्दा ५११ बढी हो । अघिल्लो आवमा साइबर अपराधसम्बन्धी १४९६ वटा उजुरी परेका थिए ।

फुर्सदिलो समयले पनि बढायो अपराध

अर्याल र समितिको बैठकमा उपस्थित सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्यालले अपराध बढ्नुको मुख्य कारण फुर्सदिलो समय, सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी लगायत भएको बताएका छन् ।

‘जुनसुकै साइटमा पनि क्लिक गर्ने प्रवृतिले अपराध बढेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको कमजोर पासवर्ड व्यवस्थापन अर्को कारण हो’ निमित्त सचिव अर्यालले भनिन् । यद्यपि साइबर सुरक्षाका लागि सरकारले काम गरिरहेको उनको दाबी छ ।

साइबर सेक्युरिटी अडिट सिस्टम सञ्चालन गरेको, राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह तथा राष्ट्रिय साइबर सुरक्षा हार्डवेरहरुको निरन्तर निगरानी भइरहेको र सरकारी वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका समयानुकुल अध्यावधिकको क्रममा रहेको उनले जानकारी दिइन् ।

प्रमाण जुटाउनै मुस्किल

साइबर ब्यूरोका एसएसपी अर्यालका अनुसार सामाजिक सञ्जालबाट चरित्र हत्या, ठगी, धम्की, मानवबेचबिखन, तस्कारी, फिरौती र हिंसाजन्य अपराध हुने गरेका छन् ।

तर प्रमाण जुटाउनै मुस्किल हुने गरेको छ । उनका अनुसार ३५ दिन भित्र उजुरी दिनुपर्ने हदम्याद छ । तर यो अवधिमा प्रमाण जुटाउनै नसक्ने भन्दै उनले भनेका छन्, ‘सामाजिक सञ्जालका आधिकारिक अफिसहरु छैनन्, भारतमा छन् । कसैको फेसबुक अन्य देशबाट ह्याक गरेको रहेछ भने त्यसबारे छानविन गर्दा धेरै देशहरुले इन्टरपोल र कूटनीतिक च्यानलबाट ल्याउन भन्छ । समयमा जवाफ नै आउँदैन । कतिपय केसमा २०/२५ दिन लागेका छन् ।’

युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल कानुनको दायरामा नआउँदा पनि समस्या भएको उनले सुनाए । डरल आउने लोभमा मानिसहरुले युट्युब चालल खोल्ने र जस्तो पनि भिडियो अपलोड गर्ने गरेको पाइएको उनले बताए ।

Share.

Leave A Reply