play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर महानगरमा बिजुलीको तार भूमिगत गरिने

0

चितवन, भदौ १८ । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो । महानगरपालिकाभित्र कसरी भूमिगत लाइन विछ्याउन सकिन्छ भन्नेबारेमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोलीले महानगरपालिका प्रमुख रेनु दाहालसहितका पदाधिकारीहरुसँग छलफल गरेको छ । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहेपनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ । चार महिनाभित्र नै सबै डिपिआरको काम सकिने मेयर दाहालले जानकारी दिइन् । काठमाडौं महानगरपालिकापछि विद्युत लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको सिलवालले बताए ।
प्राधिकरणले पहिलो चरणमा नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने गरी योजना अघि बढाएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । एडीबीको एक अर्वको प्रोजेक्ट यसै बर्षदेखि भरतपुर महानगरमा सञ्चालन गरिने सिलवालले बताए । उनले यसका लागि परामर्शदाता चयनदेखि ठेक्काको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
प्राधिकरणले भूमिगत तार विछ्याउँदा नेपाल टेलिकम, केवुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको वितरण केन्द्रका प्रमुख महतोले बताए । प्राधिकरणले यही क्रममा भरतपुर विमानस्थलको पूर्वतर्फको अवरोधका रुपमा रहेको विद्युतको हाइएक्सटेन्सन लाइनलाई भूमिगत बनाउने योजनामा समेटेको छ ।

Share.

Leave A Reply