प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ।
राष्ट्रियसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले आज पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराएका हुन्। विधेयकको दफा ७ मा उल्लेखित काउन्सिलको गठन सम्बन्धमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पुर्याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभाका सभामुखले तोकेको प्रमुख विपक्षी दलको प्रतिनिधित्वसहित कम्तीमा एक महिलासहित दुई सांसद, राष्ट्रियसभाका अध्यक्षले तोकेको एक सांसद, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट सरकारले मनोनयन गरेको एक जना सदस्य हुनुपर्ने संशोधन दर्ता गरिएको छ ।