लाइसेन्स बिना गाडी चलाए भारी जरीवाना

0

शिव गौतम,चितवन,भदौ,१३ ।
के तपाइँले बिना लाइसेन्स सवारी साधन चलाउने गर्नुभएको छ ? यदि छ भने अब होशियार हुनुहोस् । सवारी चालक अनुमतिपत्र बिना गाडी चलाउँदा तपाइँले भारी जरीवाना तिर्नुपर्ने हुनसक्छ । साउन ६ गतेदेखि प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लागू भएपछि सोही अनुसार जरीवाना वृद्धि भएको हो । अब लाइसेन्स बिना सवारी साधन चलाए जरीवाना बापत ५ हजार १० रुपैयाँ तिर्नुपर्नेछ । यस अघि चालकले ३ हजार १० रुपैयाँ बुझाउने गर्दथे । भरतपुरस्थित यातायात व्यवस्था सेवा कार्यालयका अनुसार ऐन लागू भएपछि सो कसुरमा ४३ जनाबाट जरीवाना लिइएको छ । यस आर्थिक वर्षको शुरुवातदेखि हालसम्म कार्यालयले ८५ जना चालकबाट जरीवाना असुल गरेको कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले बताए । उनका अनुसार अनुमतिपत्र बिना सवारी साधन चलाउनेहरूमा अटो चालकहरूको संख्या बढी रहेको छ । यो आर्थिक वर्षको पहिलो तीन महिना भित्र नै ६२ जना अटो चालक कारवाहीमा परेका हुन् । अनुमतिपत्र बिना सवारी चलाउने बाहेक अन्य नियम मिच्ने चालक र सवारी धनीलाई पनि जरीवानाको दायरामा ल्याएको पौडेलले बताए । उनले बताए अनुसार मोटरसाइकलमा रंग लगाई स्वरूप परिवर्तन गर्ने एक जनाबाट रु ७ हजार १० र अनुमति बिना ट्याङ्की जोड्ने ट्रयाक्टर चालकबाट रु ७ हजार १० असुल गरिएको छ । त्यस्तै, कार्यालयले नो पार्किङमा रोकिराखेका दुई ट्रकका चालकबाट पनि रु ७ हजार १० कै दरले जरीवाना असुल गरेको छ । ट्राफिक प्रहरी कार्याललाई १ हजार पाँच सय भन्दा माथिको जरीवाना असुल गर्न अनुमति नभएकाले सो भन्दा बढी जरीवाना यातायात व्यवस्था कार्यालयले लिने गरेको छ ।

Share.

Leave A Reply