play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

हाललाई चितवनमा रगतको अभाव छैन

0

शिव गौतम । भदौ १०, भरतपुर ।

अस्पतालमा विभिन्न प्रकारका उपचार गर्ने क्रममा बिरामीलाई रगत चढाउने अवस्था आउन सक्छ । खास गरी विभिन्न दुर्घटनामा परेका घाइतेको उपचारमा, गर्भवती सुत्केरी हुँदा वा अन्य रोग लाग्दा रगतको जोहो गर्नु अति आवश्यक हुन्छ । चितवन जिल्लामा रहेका अस्पतालहरूमा पनि रगतको अत्यधिक माग रहँदै आएको छ । केही महिना गर्मीका कारण रगत संकलन गर्न नसकिएको बताउँदै रक्त सञ्चार केन्द्र भरतपुरले हालको अवस्थामा भने पर्याप्त रगत संकलन भएको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञान शाली न्यौपानेले भने, ‘गर्मी मौसमको समयमा रक्तदानका कार्यक्रमहरू खासै भएनन् । त्यसले गर्दा पनि सोचेजति रगत संकलन हुन सकेको थिएन ।’ उनले थपे, ‘जिल्लामा रहेका ३३ वटै उपशाखाबाट पनि मानिसहरूलाई रक्तदान गर्न प्रोत्साहन गर्ने गरेका छौं।’ भरतपुरमा रहेको रक्त सञ्चार केन्द्रमा एक दिनमा मात्रै ६० देखि ७० पिन्ट रगतको माग हुने गरेको छ । विशेष परिस्थितिमा भने दिनमा १०० पिन्टभन्दा पनि बढी रगत खपत हुने गरेको छ । ‘ १ पिन्टमा ३५० मिलिमिटर रगत हुन्छ । हामीले औसतमा एक दिनमा ७० पिन्टसम्म रगत वितरण गर्ने गरेका छौं’, न्यौपानेले भने, ‘ब्लड ब्याङ्कमा १ हजार ५ सय पिन्टभन्दा बढी रगत जगेडा भएको खण्डमा रगतको अभाव टार्न सकिन्छ ।’ नेपालको कूल जनसंख्याको दुई प्रतिशतले मात्रै रक्तदान गरे देशभरि नै रगतको अभाव नहुने उनले दाबी गरे । रक्त सञ्चार केन्द्रमा रगत लिन आउनेहरूबाट सोधभर्ना पनि लिइने गरेको उनले जानकारी दिए । ‘रगत लिन आउने स्वस्थ व्यक्तिलाई ऊ लगिएको रगतको सट्टामा केही युनिट आफ्नो रगत दिन पनि अनुरोध गर्ने गरेका छौं, ‘न्यौपानेले भने ।

Share.

Leave A Reply