नेपालगञ्ज, साउन २३ गते । बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ । यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।
सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नंम्बर ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका छन् ।
तीमध्ये १३६ जनाको सकुशल उद्दार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्दार गरिएको छ । यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा गरेको माइती नेपालले जनाएको छ ।
त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ ।
“बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाले भने ।
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्दार सङ्ख्यासमेत बढेको छ ।