play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सुत्केरी गराउनेको पहिलो रोजाई भरतपुर अस्पताल

0

चितवन, साउन २३ गते । प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३ सय २७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ । प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन् । अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आव २०७३ र ७४ मा यो सङ्ख्या १२ हजार ९८० रहेको थियो ।
गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिनुभयो । विगतका वर्षहरुमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । उहाँको अनुसार अघिल्लो आवमा यो सङ्ख्या २७ रहेको थियो । अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ । यो सङ्ख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उहाँले जानकारी दिनुभएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताउनुभयो ।

Share.

Leave A Reply